सन्दीपको निलम्बन फुकुवा, विश्वकपमा जाने बाटो खुल्यो



नागरिक अपडेट


काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । क्यानले पाटन उच्च अदालतको फैसला बमोजिम सन्दीपमाथिको निलम्बन फुकुवा गरेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिएका हुन् । पाटन उच्च अदालतले बुधबार मात्रै सन्दीपलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।

Advertisement

सफाइ दिने पाटन उच्च अदालतको फैसला लगत्तै क्यानका सचिव पारस खड्काले निलम्बन फुकुवाका लागि बोर्डमा छलफल थालिएको थियो । निलम्बन फुकुवा भइसकेपछि सन्दीपको टी-२० विश्वकप खेल्ने ढोका खुलेको छ । क्यानले अदालतको फैसलाअनुसार निर्णय लिएको हो ।

बलात्कार जस्तो गम्भीर मुद्दामा सफाइ पाएसँगै सन्दीपले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने ढोका पनि खुलेको छ ।आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी-२० विश्वकप हुँदैछ ।

यो विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दैछन् ।विश्वकपका लागि यसअघि नै नेपालले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गत १ सम्म टोली घोषणाका लागि समय दिएको थियो।

Advertisement

आईसीसीको निर्देशनअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ ।उच्च अदालतबाट सफाइ पाए र क्याबाट निलम्बन फुकुवापछि सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने भएका छन् ।

विश्वकपका लागि यसअघि नै नेपालले टोली घोषणा गरे पनि मुनासिव कारण खुलाएर टोलीको सदस्य हेरफेर गर्न पाउँछ । त्यसका लागि आईसीसीले समय पनि दिएको छ । आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर टोलीमा हेरफेर गर्न मे २४ सम्मको समय दिएको छ । त्यसका लागि नेपालसँग ९ दिन समय छ ।

यसअघि जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपछि क्यानले २०८० पुस २६ गते निलम्बन गरेको थियो । उनलाई त्यसबेला आठ वर्ष कैद सजाय तोकिदिएपछि क्यानले उक्त निर्णय लिएको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले कैद सजायसँगै सन्दीपबाट ३ लाख जरिवानासहित पीडितलाई ५लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएसँगै क्यानले अदालतको निर्णय पालन गरिएको जनाएको थियो । २०७९ भदौमा एक युवतीलाई होटेलमा लगेर बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई १३ पुस २०८० मै दोषी ठहर गरेर पुस २६ गते सजाय सुनाएको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया