गुल्मीमा आगलागीबाट ८९ घरगोठ जलेर नष्ट, राहात र उद्धारको काम हुँदै



नागरिक अपडेट


 

गुल्मी । गुल्मीमा आगलागीबाट ८३ घरगोठ जलेर नष्ट हुँदा करोडौंको क्षति भएको छ । जिल्लाका विभिन्न ठाउँका जंगलमा लागेको आगो हावाहुरीसँगै हावाहुरीकै वेगमा बस्तीमा पस्दा बस्ती सखाप भएका छन्। गुल्मीमा शनिबार मात्रै १३ ठाउँमा आगलागी भएको थियो । इस्माको गाउँपालिका वडा नम्बर २ सिदुङ्खा र हाडिखोला, वडा नम्बर ४ कोटकोटरी र मुर्किना, गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६ भलायचौर, मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौर र अर्लाङ्कोट, मालिका गाउँपालिका वडा नम्बर १ म्यालचौर, मदाने गाउँपालिका १ घडेरी, छत्रकोट गाउँपालिका १ हुँगा, धुर्कोट गाउँपालिका ६ कुरमचाल्ने, वडा नम्बर ४ रातापोखरा र रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ भटकुवामा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । 

जंगलमा लागेको आगो बस्तीमा पुग्दा ४१ घर, ४८ गोठ, एक ट्याक्टर, दुई कुटानीपिसानी मिल, दुई किराना पसल, एक मन्दिर र ८३ पशुचौपाय पूर्ण रुपमा क्षति भएका छन् । सोही आगलागीबाट दुई मानिस घाइते र नौ पशुचौपाय घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले इस्माको सिदुङ्खा, इस्माकै कोटकोटरी र हाडीखोलामा बढी क्षति भएको जानकारी दिए । 

इस्मा गाउँपालिकाको सिदुङ्खामा ११ घर र १७ गोठ, हाडीखोलामा ६ घर र २ गोठ, इस्मा गाउँपालिकाकै वडा नम्बर ४ कोटकोटरीमा ९ घर र १२ गोठ, हुलमा १ घर र २ गोठ, मुर्किनामा २ गोठ साथै मदाने गाउँपालिकाको घडेरीमा पाँच ५ घर र ५ गोठ जलेर नष्ट भएका छन् । गुल्मीदरबार गाउँपालिकाको भलायचौरमा १ घर, मुसिकोट नगरपालिकाको आँपचौरमा ३ घर र २ गोठ, अर्लाङकोटमा २ घर र १ गोठ, मालिका गाउँपालिकाको म्यालचौरमा २ गोठ जलेर पूर्ण रुपमा नष्ट भएका छन् । छत्रकोट गाउँपालिकाको हुँगामा २ गोठ, धुर्कोट गाउँपालिकाको करमचाल्नेमा १ घर, रातापोखरामा १ गोठ र रुरुक्षेत्र गाउँपालिकाको भटकुवामा २ घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । 

आगलागीले सिदुङ्खाको बस्तीमा बिजोग बनाएको छ। घरगोठ जलेपछि स्थानीय खुला आकाशमुनी बस्न बाध्य बनेका छन् । समयमै राहात नपाउँदा स्थानीय थप पीडित बनेका छन् । मरेका पशुचौपायको दुर्गन्धले गाउँमा महामारी निम्तने डरमा पीडित छन् । आगलागीका कारण बस्तीमा आएको खानेपानीको पहुँच टुटेको छ । पानीको सहज पहुँच नहुँदा थप समस्या भइरहेको छ । खानेपानीको चरम अभावले पीडित थप छटपटीमा छन् । जंगलसँगै बस्ती पनि आगोले सखाप बनेपछि हरियोसँगै सुकेका पनि सबै घाँस नष्ट हुँदा बाँचेका पशुचौपायलाई बचाउन मुस्किल परिरहेको छ । हावाहुरीसँगै हावाहुरीकै बेगमा बस्तीमा पसेको आगोले आफ्नै आँखा अगाडी सबै सखाप पार्दा आगलागी घटनास्थलमा थप सास्ती भइरहेको छ ।

आगलागीबाट भएको क्षतिको थप विवरण जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिले संकलन गरिरहेका छन् । स्थानीय सरकारले आगलागी घटनास्थलमा राहातको व्यवस्था सुरु गरिरहेका छन् । आगलागी स्थलमा आइतबार राहात लिएर जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री, इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर, गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितका सुरक्षा निकाय र उद्योग वाणिज्य संघ गुल्मीका टिम पुगेका थिए ।

आगलागीबाट करोडौंको क्षति भएको छ । क्षतिको वास्ताविक विवरण अझै आइसकेको छैन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले आगलागी भएका सबै ठाउँमा पीडितलाई सहयोग गरिरहेको बताए । उनले एकीकृत रुपमा सहयोग भइरहेको बताएका छन् । इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले एकैदिन गाउँपालिकाका धेरै ठाउँमा आगागी क्षति भएकोले गाउँपालिकाको सबै टिम परिचालन गरेर काम भइरहेको बताइन् । 

उनले तत्काल गर्न सकिने राहात र उद्धारका काम गाउँपालिकाबाट भइरहेको जानकारी दिइन् । पीडितलाई आधारभूत आवश्यकताका आधारमा राहात दिलाउने काम भइरहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताए । सबै ठाउँमा पुगेर वास्ताविकता बुझेर एकद्धार प्रणालीमार्फत राहात दिलाउने काम भइरहेको खत्रीको भनाइ छ । लाईभ गुल्मीबाट साभार 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया