यौन सम्बन्धको भिडिओ बनाई ब्ल्याकमेल गरेको आरोपमा युवती पक्राउ,१४ लाख बढी ठगी



नागरिक अपडेट


काठमाडौँ । शारीरिक सम्बन्धपछि नाङ्गो फोटो/भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने धम्की दिएर एक युवकलाई ‘हनी ट्रयाप’मा पारी लाखौँ रुपैयाँ असुल गरेको आरोपमा सुर्खेत प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका-८ घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द रहेकी छिन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

Advertisement

प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार पीडित युवक र चन्दको चिनजान गत वर्ष साथीहरूमार्फत भएको थियो । चिनजान भएको एक हप्तापछि गत २०८१ सालको भदौ महिनामा वीरेन्द्रनगरको बुद्धपथमा रहेको बुलबुले भ्यु होटलमा उनीहरूबिच सहमतिमा यौनसम्बन्ध भएको थियो ।

Advertisement

यौनसम्बन्ध भएको करिब दुई महिनापछि चन्दले ती युवकलाई जबरजस्ती करणीको मुद्दामा फसाइदिने धम्की दिन थालिन् । प्रहरीका अनुसार उनले सामाजिक सञ्जाल तथा मिडियामा नाङ्गो फोटो सार्वजनिक गरिदिने भन्दै डर, त्रास देखाई पटकपटक गरी १४ लाख २५ हजार रुपैयाँ असुल गरेकी थिइन् ।

पीडित युवकले गत हप्ता जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा जाहेरी दिएपछि खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरेको हो । आर्थिक लाभ (एक्सटर्सन) लिएको कसुरमा जिल्ला अदालत, सुर्खेतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान अघि बढाइएको डीएसपी बुढथापाले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया