गुल्मी — मोटरले पानी तानेर गुल्मीको छल्दीफाँटमा रोपाइँ सुरु गरिएको छ । जिल्लाको इस्मा गाउँपालिका-२ छल्दीफाँटमा स्थानीय किसानले मोटरले खेतमा पानी पुर्याएर धान रोप्न सुरु गरेका हुन् । छल्दीखोला आडैमा रहेको फाँटमा सिंचाइ सुविधा नहुँदा किसानले धान रोप्न पाएका थिएनन् ।
किसानले यो फाँटमा यसअघि आकाशे पानी खेतमा जम्मा भएपछि वा खेतकै छेउकुनामा मूल फुटेपछि धान रोप्ने गरेका थिए । पहिले कुलोबाटै खोलाको पानी खेतमा आउने गरेकोमा विस्तारै खोला बहावले गहिरिँदै गएपछि छलफाँट सिंचाइ सुविधाविहीन बनेको थियो ।
यो पनि…
पछिल्लो समय आकाशे पानीको भरमा बाली लगाउँदै आएका किसानले यसवर्ष समयमा पानी नपर्दा रोपाइँ गर्न सकेका छैनन् । तर, खेत बाँझै हुने र ढिला रोपे उत्पादन कम हुने डरले केही किसानले मोटरबाट पानी तानेरै रोपाइँ गरेका हुन् ।
डिजेल प्रयोग गरी मोटरबाट पानी तान्दा किसानको लागत धेरै महँगो पर्छ । स्थानीय किसान भविश्वर खत्री, लक्ष्मी थापा, यादव पाण्डे, राजन कुँवर र पूर्ण श्रेष्ठले मोटरबाट पानी तानेर धान रोपेका छन् । छल्दीफाँटमा ६० जना किसानको ३ सय रोपनी खेतमा रोपाइँ हुने गरेको छ ।
गुल्मीमा चैते धान ३ सय १९ हेक्टर र बर्से धान ७ हजार १ सय २० रोपनी क्षेत्रफलमा रोपाइँ हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवप्रसाद बन्जाडेले बताए । यस क्षेत्रमा रामधान, खुमल, हंसराज, मकवानपुर, जडन र लामेलगायत जातका धान रोपिन्छ ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार ३ हजार ६ सय २६ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा छ । बाँकी क्षेत्रफलको खेतमा सिँचाइको सुविधा पर्याप्त छैन ।