दाउन्नेमा वर्षाका कारण अवरुद्ध यातायात एकतर्फी सञ्चालन



नागरिक अपडेट


नवलपरासी — वर्षाका कारण गाडी फसेर गत ३८ घण्टादेखि अवरुद्ध महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा एकतर्फी यातायात सुरु भएको छ। प्रहरी चौकी दाउन्नेका अनुसार वर्षा रोकिएपछि सडक पुरपार गरेर केहीबेर अघिदेखि एकतर्फी पालैपालो गाडी खुलाइएको छ।

Advertisement

दाउन्नेको ५ ठाउँमा सडक एकतर्फी सञ्चालनमा छ, प्रहरी राखेर पालैपालो यातायात खुलाइएको छ। दाउन्नेमा लामो जाम नहोस् भनेर दुम्कीवासदेखि ३० पूर्व कावासोतीमा रोकिएका लामो गाडी गन्तव्यतर्फ पठाइएको छ। दुम्कीवास बजारबाट ३ किलोमिटर पश्चिममा रहेको विश्वकर्मा मन्दिर नजिक सडक भासिएका कारण त्यहाँ राजमार्ग अवरुद्ध भएको थियो।

Advertisement

भासिएको स्थानमा ग्राभेल राखेर राजमार्ग सहज बनाएपछि यातायात खुलेको हो। तीन महिनाअघि त्यहाँ पुल निर्माण गर्न खनिएको खाल्डोको माटो बगेका कारण त्यहाँ गाडी फसेर समस्या भएको थियो। त्यहाँ ठाडो उकालो भएकाले गाडी डोजरले धकेलेर वारपार गराइएको छ।

Advertisement

विश्वकर्मा मन्दिर नजिक राजमार्गमा पानी बगिरहेकै कारण गाडी हिँडाउन भने कठिनाइ छ। राजमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले दाउन्नेमा काम नगरेका कारण सामान्य वर्षामा समेत राजमार्ग ठप्प हुने गरेको छ।

दुम्कीवासदेखि बर्दघाट बीचको १४ किलोमिटर सडक दाउन्ने पहाड पर्दछ। पूर्व–पश्चिम हिँडेका गाडी दाउन्ने जाममा परेका छन्। दाउन्नेमा लामो जाम हुन नदिन कावासोती र बर्दघाटमा रोकिएका गाडी गन्तव्यतर्फ पठाएका कारण दाउन्नेमा लामो जाम छ। ३–४ घण्टामा गाडी वारपार हुनसक्ने प्रहरीले जनाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया