गुल्मी । गुल्मीको एक क्लबले महिलाहरूलाई तीज गीतमा मौलिकता हराउँदै जान थालेपछि परम्परागत संस्कृति जोगाउन भन्दै मौलिक संस्कृति , विकृति विसङ्गगति न्युनिकरण, शिक्षा, जनचेतनालाई जोडेर ‘मौलिक तीज गीत प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
हिन्दु नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं १४ मा अवस्थित श्री कालिका युवा क्लवले तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको हो ।
रेसुङ्गा नगरपालिका–१४ मा अवस्थित यस कालिका युवा क्लवको सामाजिक उत्तरदायित्व अन्तर्गत पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले तीज गीत प्रतियोगिताको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद गौतमले जानकारी दिनुभयो ।
पछिल्लो समय तीज गीतका नाममा छाडा गीत, रत्यौली लगायतका संस्कृतिभन्दा बाहिरको विषय हावी भएको भन्दै तीज पर्व र तीज गीतलाई पुरानै लयमा फर्काउन मौलिक तीज गीत प्रतियोगिता आयोजना गर्न लागिएको संस्थाका सदस्य नरिश्वर आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा ‘मौलिक सस्कृतिको जर्गेना गरौं’ भन्ने मुल नाराका साथ आमा समूह, महिला समूह, क्लव संघ-सस्था, विद्यालयलाई सहभागी बन्ने सक्ने गरी तयारी थालिएको बताउनुभयो। प्रतियोगितालाई रचनात्मक र सन्देशपूर्ण बनाउने तथा कुनै व्यक्ति, समुदाय, जातजाती, राजनीतिक दलहरुललाई आक्षेप नलाग्ने विषयमा प्रस्तुति राख्न सकिने आचार्यले जानकारी दिनुभयो ।
रेसुङ्गा नगरपालिका १४ रातामाटा स्थित त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा श्रावण २८ गते आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट प्रतियोगी समूहलाई आर्थिक र प्रमाणपत्रले पुरस्कृत समेत गरिने संस्थाका अध्यक्ष गौतमले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु १५ हजार रुपियाँ र प्रमाणपत्र, द्वितीय हुने समूहलाई नगद रु १२ हजार रुपियाँ र प्रमाणपत्र, तृतीय हुने समूहलाई नगद रु ९ हजार रुपियाँ र प्रमाणपत्र तथा प्रतियोगितामा सहभागी सबै समूहलाई नगद रु १ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिने संस्थाले जनाएको छ ।