गुल्मी —गुल्मीको इस्मा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ। शुक्रबार औपचारिक कार्यक्रममार्फत पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा तथा महिला स्वास्थ्य स्वयंसेविका सम्मान गरिएको हो।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले १६ सूचक र १० मुख्य मापदण्ड गाउँपालिकाभरका स्वास्थ्य संस्थाले पूरा गरेपछि घोषणा प्रक्रियामा प्रवेश गरेको थियो। घोषणा प्रक्रिया योग्यता पुगेपछि स्वास्थ्य संस्थाले आफू पोषणमैत्री हुन योग्य भएको जानकारी स्थानीय तहमा पत्राचार गर्ने व्यवस्था छ।
स्थानीय तहअन्तर्गत गठित पोषण सेवा गुणस्तर सुधार गुणस्तर सुनिश्चिता कार्यसमितिको बैठकले स्वास्थ्य संस्थाबाट प्राप्त विवरणका आधारमा निर्देशिका बमोजिम योग्य यकिन गरी अनुमोदन गर्नेछ।
अनुमोदनपछि स्वास्थ्य शाखा संयोजकको पहलमा सम्बन्धित स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गरिनेछ। घोषणा पश्चात महिला स्वास्थ्य स्वयंसेविका, वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिलगायतका माध्यमबाट समुदायस्तरसम्म जानकारी गराइने र पोषणमैत्री अवस्थाको दिगोपना सुनिश्चित गर्न आर्थिकलगायतका अन्य प्रोत्साहनको व्यवस्था गरिनेछ।
सबै स्वास्थ्य संस्थाले यो प्रक्रियासाथ घोषणा भएपछि पालिकाले स्वास्थ्य कार्यालयलाई जानकारी गराएपछि सूचक र मापदण्ड सम्बन्धी अनुगमन हुन्छ। त्यसपछि जिल्ला समन्वय समिति प्रमुखको उपस्थितिमा समग्र पालिकालाई घोषणा गरिनेछ।
सोही बमोजिम इस्मा गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको हो। इस्मा गाउँपालिकाभित्र स्वास्थ्य चौकी पाँच, आधारभूत स्वास्थ्य सेवा केन्द्र एक र सामुदायिक स्वास्थ इकाई तीन गरी जम्मा नौ वटा स्वास्थ्य संस्था छन्।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पुष्पा थापासहितको सहभागितामा इस्मा गाउँपालिकालाई प्रमाणपत्र हस्तान्तरण गर्दै इस्मा गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका भएको औपचारिक घोषणा गरेका छन्। ‘खासगरी पछिल्लो समय मानव विकासका सूचकांकमा काम गर्नुपर्नेछ’, जिसस प्रमुख खत्रीले भने, ‘इस्मा गाउँपालिकालाई प्राथमिकताका साथ काम गरेर पोषणमैत्री बन्न सकेको छ ।’ उनले इस्मा गाउँपालिका यसअघि पूर्ण खाेपयुक्त पालिका र स्वास्थ्य संस्थामा प्रसूतियुक्त पालिका घाेषणा भइसकेकोमा प्रशंसा गरे ।
इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र समग्र स्वास्थ्य संस्थासँग सम्बन्धित कर्मचारीको मेहताले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्न सकिएको बताए। ‘मानव विकास सूचकांकका क्षेत्रसहित पूर्वाधारलगायतका क्षेत्रमा काम भइरहेका छन्’, उनले भने, ‘पालिका पोषणमैत्री भएको छ, यसलाई अब सधैं सुनिश्चितता गर्नुपर्छ ।’
उनले आफूहरूकाे टिम निर्वाचित भएर आउने बेला मदनभण्डारी राजमार्ग खण्डबाहेक पालिकाभित्र कुनै सडक पक्की नभएकोमा अहिले धेरै ठाउँमा थाेरैथाेरै भए पनि पक्की भइसकेको र हुने क्रममा रहेको बताए । उनलेे खेलकुद र पर्यटन क्षेत्रमा पनि धेरै उपलब्धि हासिल गरेको बताए । कान्तिपुर





