गुल्मी । आफ्नो खाजा खाने पैसाबाट केही रकम बचाएर विद्यार्थीहरूले विपत्तिमा परेका नागरिकका लागि सहयोग जुटाएका छन्। गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–१४ रातामाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि १० हजार २५ रुपैयाँ सहयोग गरेका हुन्।
विद्यालयका विद्यार्थीहरूले दैनिक खाजाका लागि छुट्याइएको रकममध्ये आफूले सक्ने जति बचत गर्दै ९ हजार २५ रुपैयाँ संकलन गरेका थिए। विद्यार्थीहरूको यो अभियानमा विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलले थप १ हजार रुपैयाँ सहयोग गरेपछि कुल रकम १० हजार २५ रुपैयाँ पुगेको हो।
विद्यालयका सहायक प्रधानाध्यापक तथा जुनियर रेडक्रस सर्कलका शिक्षक दुर्गाप्रसाद गौतमका अनुसार विद्यार्थीहरूले कुनै दबाबबिना आफ्नै सोइच्छाले खाजा खर्च कटाएर रकम संकलन गरेका हुन्। ‘आफूले खाने खाजाको पैसा बचाएर अरूको दुःखमा सहयोग गर्ने भावना विद्यार्थीहरूमा देखिनु आफैंमा महत्वपूर्ण कुरा हो,’ गौतमले बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक तिलकराम गौतमले रकम ठूलो वा सानोभन्दा पनि त्यसमा जोडिएको भावना महत्वपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार बालबालिकाले आफ्ना साना आवश्यकता केही समयका लागि थाती राखेर विपत्तिमा परेका नागरिकलाई सम्झनु मानवीय संवेदनाको सुन्दर उदाहरण रहेको बताउनु भयो।
भोटेकोशी बाढीले धेरै नागरिकलाई घरबार, सम्पत्ति तथा आफन्त गुमाउन बाध्य बनाएको अवस्थामा विद्यार्थीहरूले गरेको यो सहयोगले विपत्तिमा साथ दिन ठूलो आर्थिक हैसियत आवश्यक नपर्ने सन्देश दिएको छ।
सानो उमेर, सानो बचत तर ठूलो मन—त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरूको यो पहलले ‘सहयोग रकमले होइन, भावनाले ठूलो हुन्छ’ भन्ने उदाहरण प्रस्तुत गरेको छ। विद्यार्थीहरूले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।





