रोकिएन तिनाउमा डुबेर मृत्यु हुने क्रम:सोमबार पनि गुमाए एक युवाले ज्यान



नागरिक अपडेट


पाल्पा। तिनाउ नदीमा पौडी खेल्ने क्रममा सोमबार पनि एक युवाले ज्यान गुमाएका छन् । गर्मी छल्न भारतदेखि साथीभाईसँग घुम्न आएका २३ वर्षीय मुकुन्द शर्माको सोमबार साँझ करिब ६ बजेको समयमा पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Advertisement

पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्साको दामेदमारस्थित तिनाउ खोलामा पौडी खेल्दा भारत महाराजगंज बोधहनिथाना बसहिया बस्ने मुकुन्दले ज्यान गुमाएका हुन् । यसरी भारतबाट घुम्न आएका पर्यटकले तिनाउ नदीमा डुबेर ज्यान गुमाएको लगातार यो तेस्रो पटक हो ।

Advertisement

गत शनिबार तिनाउ–३ झुम्सास्थित तिनाउ नदीमै एक युवाले ज्यान गुमाएका थिए भने आइतबार तिनाउ नदीको ड्याम साइडमा एक बालकको ज्यान गएको थियो । गर्मी छल्न भारतीय तथा स्थानीयहरु समेत तिनाउ नदीमा पौडी खेल्न जानेको भिड लाग्ने गरे पनि आवश्यक सुरक्षा व्यवस्था नहुँदा प्रत्येक वर्ष मानिसहरुले तिनाउमा डुबेर ज्यान गुमाउने गरेका छन् ।

Advertisement

दैनिक जसो नदीमा हुने भिड र सम्भावित दुर्घटनालाई मध्यनजर गरी स्थानीय प्रशासनले निगरानी राख्न नसक्दा दुर्घटना हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तिनाउ नदीमा जानबाट रोक्नका लागि केही ठाउँमा तारबार तथा ताल्चा लगाउने समेत काम भए पनि सो क्रम नरोकिएको बताए ।

स्थानीय पालिकासँग समन्वय गरी तिनाउ नदीमा पौडी खेल्न जाने क्रम रोक्न स्वयम्सेवक खटाउने विषयमा छलफल भैरहेको उनले बताए । यद्यपी दैनिक ५ सय बढी मानिस तिनाउ नदीमा पौडी खेल्नका लागि जाने गरेको बताउँदै श्रेष्ठले भिडलाई रोक्न नसकिएको स्वीकार गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया