गंगु कुँवर मगर,गुल्मी। आज देशभर नेपाल पत्रकार महासङ्घको निर्वाचन हुँदैछ । सदस्यता विवादका कारण पटक पटक स्थगित हुँदै आएको पत्रकार महासङ्घको आज निर्वाचन हुन लागेको हो । आगामी तीन वर्षको नेतृत्वका लागी निर्वाचन हुन लागेको छ ।
यसै बीच नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाको पत्रकार महासंघमा जनजातीको तर्फबाट उम्मेदवारी शुन्य भएको छ । आज हुन गइरहेको नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा गुल्मी जिल्लाबाट जनजातीका तर्फबाट कसैको पनि उम्मेदवारी दर्ता नभएका कारण शुन्य भएको हो ।
जिल्लामा सदस्यता शुद्धीकरणको नाममा क्रियाशिल र अग्रज पत्रकारसँगै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (FONIJ)गुल्मीका पदाधिकारीलाई हटाइए पछि उम्मेदवारी दर्ता शुन्य भएको नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (FONIJ)गुल्मीका अध्यक्ष लोकप्रसाद छ्न्त्यालले जानकारी दिनुभयो ।
मतदाता नामावलिमा समावेश एक मात्र फोनिज गुल्मीका कोषाध्यक्ष अमृता गाहा मगरको उम्मेदवारी नपर्नुले अहिले जिल्ला शाखा गुल्मी जनजाती विहीन हुने देखिएको छ । अहिले अध्यक्ष पदका लागि जिल्लामा तिलाचन पाण्डे र अनिल खत्री प्रतिस्पर्धीको रूपमा रहेका छन।
यस्तै,सह सचिव (खुल्ला) मा मनोज कार्की र दुर्गा बहादुर खड्का क्षेत्री रहेका छन्। खत्री र कार्की प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन भने पाण्डे र खड्का प्रेस सेन्टरबाट उम्मेदवारी दिएका हुन ।
महासंघ गुल्मीको निर्वाचन अगावै नेपाल प्रेस युनियनका सुमन महतारा उपाध्यक्ष ,सन्तोष महतारा सचिव ,मनु सुनार सह-सचिव र सागर भण्डारी काेषाध्यक्षमा निर्विरोध निर्वाचित भैसकेका छन् ।