आजको भूकम्पबाट नेपालमा क्षति भयो कि भएन ?



नागरिक अपडेट


काठमाडौं । नेपालमा कडा धक्का दिएको भूकम्पले क्षति पुर्‍याए/नपुर्‍याएकोबारे विवरण संकलनको काम भइरहेको अधिकारीहरुले बताएका छन् ।आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको दिङ्गे काउन्टीमा थियो ।

Advertisement

नेपालका भूगर्भविदहरुका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ । यससँग नेपालका नजिकका जिल्ला सोलुखुम्बु, संखुवासभा, दोलखा र ताप्लेजुङ पर्दछन् । ती जिल्लाका प्रहरी अधिकृतहरुले भूकम्पको कडा धक्का महसुस भएको र क्षति भए/नभएकोबारे बुझ्ने काम भइरहेको जनाएका छन् ।

Advertisement

प्रहरी फौज रहेको स्थानमा बुझ्दा अहिलेसम्म क्षतिको विवरण भने नआएको उनीहरुले बताएका छन् । संखुवासभाका प्रहरी प्रमुख दक्ष कुमार बस्नेतले जिल्लामा क्षतिको विवरण प्राप्त नभएको बताए । सूचनाको पहुँच भएको क्षेत्रसम्म बुझ्दा क्षतिको जानकारी नभएको उनले बताए । ‘जिल्लामा सञ्चार सम्पर्क नहुने क्षेत्र पनि छन्, ती क्षेत्रको अवस्थाको जानकारी त छैन, तर जहाँ–जहाँ सम्पर्क भएको छ, त्यहाँ भने क्षतिको जानकारी छैन,’ डिएसपी बस्नेतले बताए ।

Advertisement

यसैगरी दोलखा प्रहरीका प्रवक्ता दाताराम अधिकारीले पनि क्षतिको विवरण प्राप्त नभएको बताए । उनका अनुसार दोलखामा च्छोरोल्पा हिमताल र लामाबगर अति जोखिमयुक्त क्षेत्र मानिन्छन् । ती स्थानमा अहिलेसम्म भूकम्पले क्षति भएको जानकारी नआएको अधिकारीले बताए । ‘च्छोरोल्पा हिमताल फुट्ने र लामाबगर क्षेत्रमा सुक्खा पहिरो खस्ने जोखिम रहन्छ । तर प्रहरी फौज भएको स्थानसम्म बुझ्दा अहिलेसम्म क्षतिको जानकारी छैन,’ अधिकारीले भने ।

नेपाल–चीन सीमा क्षेत्रमा रहेका हिमतालहरु जोखिमयुक्त मानिन्छन् । यदि ती विष्फोट भएमा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्ने विज्ञहरु बताउँछन् । त्यस्ता सम्भावित जोखिमका क्षेत्रमा थप सूचना संकलन र अलर्ट रहन मातहतका प्रहरीलाई भनिएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।सोलुखुम्बुका प्रहरीका प्रवक्ता लक्ष्मण गिरीले अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको बताए । ‘बुझ्ने काम जारी छ, तर अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन,’ उनले भने । अनलाईनखबरबाट साभार 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया