गुल्मी। गुल्मीमा सोमबार दिउँसो एक युवा मृत फेला परेका छन्। जिल्लाको कालीगण्डकी गाउँपालिका-४ जोखुमका ३२ वर्षीय ओमबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले बताए।
नायब उपरीक्षक दाहालका अनुसार राना सोही वडाको भुतेगैरा खोल्सोमा घोप्टो अवस्थामा मृत फेला परेका थिए। रानालाई खोल्सामा मृत अवस्थामा देखेपछि वडाध्यक्ष होम बहादुर थापाले पुर्तिघाट प्रहरी चौकीलाई जानकारी गराएका थिए। घटना बारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक कमल बन्जाडेको कमान्डमा प्रहरी घटनास्थलमा पुगेको थियो।
राना आइतबार साँझ कसैलाई जानकारी नगराइ घरबाट हिँडेको परिवारले बताएका छन्। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।