अनिल खत्री,गुल्मी । वर्षौंसम्म उपयोगविहीन बनेको बाँझो जमिन अहिले हरियाली तरकारी फार्ममा परिणत भएको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–३ स्थित गुठ क्षेत्रमा कृषक भविन्द्र घर्तिमगरले चमत्कारी रूपमा बाँझिएको जमिनमा समृद्धिको खेती सुरु गरेका छन् ।
धुर्कोट गाउँपालिका–३ निवासी घर्तिमगर विगत केही वर्षदेखि गुठको जग्गा भाडामा लिएर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । उनले गोलभेंडा, काँक्रो, बोडी, फूलकोबी, बन्दा, धान, मकै, माछा लगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आयआर्जनमा उल्लेखनीय प्रगति गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कार्यान्वयन इकाई गुल्मीको सहयोगमा उनको कृषि यात्रामा ठूलो सहजता आएको छ । परियोजनाले तीन वर्षदेखि चक्लाबन्दी खेती कार्यक्रम अन्तर्गत मल, बीउ, सिँचाइ उपकरण, तालिम र प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको कार्यालयका सूचना अधिकारी बिष्णु पोखरेलले बताउनुभयो ।
यस सघन सहयोगपछि घर्तिमगरले करिब २५ वटा भन्दा बढी टनेलमा तथा खुल्ला खेतमा तरकारी खेतीको विस्तार गरेका छन् । सँगसँगै उनले माछापालन पनि सुरु गरेका छन् । जसले समग्र खेती प्रणालीलाई अझै समृद्ध बनाएको छ । २०७९ सालमा दर्ता गरिएको रेसुङ्गा एग्रो बिजनेस कन्र्सन नामक व्यवसायमार्फत उनले तम्घासमा तरकारी संकलन केन्द्रसमेत स्थापना गर्ने गरेका छन् ।
यसले उत्पादनसँगै बजारीकरण प्रक्रियालाई सहज बनाएको छ। स्थानीय बजारमा ताजा तरकारीको पहुँच बढाउनुका साथै अन्य कृषकलाई पनि व्यापारिक सोच विकास गर्न प्रेरणा मिलेको छ । कृषक घर्तिमगरको कठिन परिश्रम र परियोजनाको सहयोगले बाँझो जमिनलाई उत्पादनशील बनाएको छ ।
यसबाट स्थानीय स्तरमै रोजगारी, आम्दानी र आत्मनिर्भरता बढ्ने संकेत देखिएको छ । कृषक घर्तिमगरले mदैनिक रुपमा ४ जनाले रोजगारी पाईरहेका छन् । मौसमी कामदारको रुपमा धेरैले रोजगारी गर्ने कृषक घर्तिमगरले बताउनुभयो ।