गुल्मीमा असारमै फुल्याे बेमौसमी सयपत्री फूल



अनिल खत्री


गुल्मी । रेसुङ्गा नगरपालिका–६ सिमाघाटका कृषक प्रेम नेपालीले बेमौसमी सयपत्री फूल उत्पादन गर्दै गुल्मीमा कृषि सम्भावनाको नयाँ ढोका खोलेका छन्। सामान्यतया तिहार, दशैं र अन्य चाडपर्वमा मात्र सयपत्री फूलको व्यापार हुने मानिन्छ। तर, नेपालीले असार महिनामै फूल फुलाएर मौसमी सीमालाई तोडेका छन्।

Advertisement

करीब दुई रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका नेपालीको बगैंचामा अहिले फूलहरू फुलेर रंगीन देखिएका छन्। असारमा अन्य किसानहरू रोपाइँ र धान खेतीमा व्यस्त हुने बेला नेपालीले फूल खेती गरेर नयाँ अभ्यासको सुरुवात गरेका हुन्।

Advertisement

बेमौसमी सयपत्री फूलको विवाह, पूजाआजा, विशेष समारोहमा उच्च माग हुने भएकाले यसबाट राम्रो आम्दानी लिन सकिने अपेक्षा गरिएको छ। मौसमी समयभन्दा बाहिर उत्पादन गर्दा बजारमा प्रतिस्पर्धा कम हुने र मूल्य राम्रै पाइने भएकाले आफूले यही समयमा फूल खेती थालेको नेपाली बताउँछन्।

Advertisement

फूल सफलतापूर्वक फुलाउन उनले मलजल व्यवस्थापन, सिँचाइको नियमितता, कीरा नियन्त्रण र उन्नत बीउजस्ता आधुनिक कृषि प्रविधिको प्रयोग गरेका छन्। उत्पादन भएको फूल स्थानीय बजारसँगै तम्घास पठाउने योजना पनि उनले बनाएका छन्।

नेपालीले दशैं–तिहारलाई लक्षित गर्दै विगत चार वर्षदेखि फूल खेती गर्दै आएका छन्। यद्यपि, उनी करिब १२० रोपनी जमिन भाडामा लिएर पछिल्लो १० वर्षदेखि तरकारी खेती पनि गर्दै आएका अनुभवी कृषक हुन्।

पछिल्लो समय मौसमी र बेमौसमी तरकारी खेतीलाई निरन्तरता दिइरहेका नेपालीले फूल खेतीलाई पनि प्राथमिकतामा राखेका छन्। स्थानीय तहले कृत्रिम माला र खादाको प्रयोग निषेध गर्न थालेपछि गुल्मीमा फूल खेती गर्ने किसानको संख्या बिस्तारै बढ्दै गएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया