गुल्मी । रेसुंगा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण दुई सातादेखि उडान प्रभावित बनेको छ । पछिल्लो पटक असार १४ गते उडान भएपछि त्यसयता मौसमकै कारण पटकपटक उडान प्रभावित बन्दै आएको हो ।
रेसुंगा विमानस्थलमा सातामा चार वटा नियमित उडान हुने कार्यतालिका छ । कार्यतालिका अनुसार उडान नभए पनि साप्ताहिक एक वा दुई उडान भइरहेको अवस्थामा मौसमका कारण सोही उडान पनि प्रभावित बनेको छ । मौसमको प्रतिकूलताका कारण पछिल्ला सबै उडान स्थगित भएको रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
उनका अनुसार हाल आइतबार, सोमबार, मंगलबार र शनिबार नियमित उडान हुने कार्यतालिका रहेको छ । काठमाडौं–रेसुंगाको भाडा प्रतियात्रु ७ हजार ५ सय रुपैयाँ र रेसुंगा–काठमाडौं ७ हजार ३ सय छ । मंगलबार पनि रेसुंगामा जहाज आउने कार्यतालिका रहेको थियो । तर, रेसुंगाको मौसमकै कारण काठमाडौंबाटै जहाजले उडान भरेको थिएन ।
यसअघिको उडान कार्यतालिकामा भने काठमाडौंबाट उडान भरेको जहाज रेसुंगामा अवतरण हुनसकेको थिएन । वर्षायामको समयमा रेसुंगा विमानस्थल कुहिरोले ढाक्छ । खुल्ला आँखाले देखेकै भरमा विमानस्थलमा जहाज अवतरण गर्नुपर्ने अवस्था रहेका कारण बर्षायामको सममयमा पटकपटक जहाज अवतरणमा समस्या हुने गरेको छ ।
रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमअन्तर्गत नेपाल एयरलाइन्सको ट्विन्टर जहाजले सफल परीक्षणपछि २०८० वैशाखबाट नियमित उडान सुरु गरेको थियो । उक्त जहाज काठमाडौं–रेसुंगा बिहान ६:३० बजे र रेसुंगा–काठमाडौं बिहान ७:४० बजे उडान भर्दैआएको छ । रेसुंगा नगरपालिकाको अगुवाइमा रेसुंगा विमानस्थलबाट नियमित उडानका लागि पहल गरिएको थियो ।