गुल्मी । गुल्मीमा स्वास्थ्य बिमा गराउनेको संख्या १ लाख २३ हजार १ सय २७ पुगेको छ । यो कुल जनसंख्याको ४९.९ प्रतिशत हो । जिल्लाको जनसंख्या हाल २ लाख ४६ हजार ८ सय ३६ छ ।
स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका अनुसार उक्त बीमितको संख्या अनुसार महिला ६३ हजार ५ सय ६३ र पुरुष ५९ हजार ५ सय ६४ रहेका छन् । जिल्लामा स्वास्थ्य बिमा गराउनेको पारिवारिक संख्या ३९ हजार ४ सय ६२ रहेको स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय गुल्मीका प्रमुख सुवास घिमिरेले जानकारी दिए ।
उनका अनुसार पूरा रकम तिरेर स्वास्थ्य बिमा गर्ने २० हजार ३ सय ४३ परिवारका ९६ हजार ८ सय ६२ जना रहेका छन् । त्यस्तै आधा रकम तिर्ने महिला स्वास्थ्य स्वयंसेविका ८ सय ७८ परिवारका ४ हजार ५ सय ३२ जना रहेका छन् ।
साथै निःशुल्क स्वास्थ्य बिमा गराउनेको संख्याअन्तर्गत १७ हजार २ सय ८८ ज्येष्ठ नागरिक, (क) वर्गका अपांगताका भएका ७ सय ७९ परिवारका ३ हजार ९ सय २८, एचआईभी एड्स लागेका १ सय ६५ परिवारका ४ सय ८१ जना, कुष्ठरोगीतर्फ ३ परिवारका १२ जना र एमडीआर टीबी भएका ६ परिवारका २५ जना रहेका छन् ।
२०७६ माघदेखि गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम सुरुवात भएको थियो । जिल्लाका ९३ वटै वडामा स्वास्थ्य बिमाका लागि सम्पर्क व्यक्ति रहेका छन् । उनीहरूमार्फत प्रतिपरिवार ५ जनाका लागि ३ हजार ५ सय रुपैयाँमा १ लाख रुपैयाँ बराबरको वार्षिक बिमा गर्न सकिन्छ ।
सदस्य संख्या थपिएमा एक जनाको ७ सय रुपैयाँ थपेर थप २० हजार बराबरको सुविधा लिन सकिन्छ । सरकारी अस्पतालमा १० प्रतिशत, सामुदायिक र निजीमा भने २० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने व्यवस्था छ ।