गुल्मी — गुल्मीमा निरन्तर झरीका कारण विभिन्न स्थानमा क्षति भएको छ । मुख्य राजमार्ग कालीगण्डकी करिडाेर र रुद्रवेणी-वामी सडकखण्ड अवरुद्धसँगै अन्य विभिन्न स्थानमा क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार, मुसिकोट नगरपालिका-१ रंगनमा जयबहादुर थापाको ढुङ्गा माटोले बनेको टिनले छाएको २ तले कच्ची गोठ भत्किँदा ३ गाई, १ बाच्छा र १ बाख्रा पुरिएर मरेका छन् ।
अविरल परेको वर्षाका कारण पहिरो झर्दा चन्द्रकोट गाउँपालिका-१ सराङस्थित दिब्रुङ स्वास्थ्य चौकीको सुत्केरी स्याहार कक्ष पूर्ण रुपमा पुरिएको छ ।
चन्द्रकोटकै वडा नम्बर ४ स्थानीय अमरबहादुर कुमालको ढुंगामाटोले बनेको टिनले छाएको दुई तले कच्ची घरमा क्षति हुँदा चार जनाको परिवार विस्थापित बनेको छ । धुर्कोट गाउँपालिका-१ का बस्ने दीपेन्द्र विककाे २ तले कच्ची गोठ पूर्ण रुपमा क्षति भएको छ ।
यस्तै इस्मा गाउँपालिका-२ ताल्तुङमा दीपक रानाले बाटो छेउमा रोकिराखेको लु १ ज ५४१७ नम्बरको डबल क्याब गाडी ओट लाउने क्रममा अचानक ब्याक भई दुर्घटना हुँदा गाडीमा क्षति आंशिक क्षति भएको छ ।
आइतबार साँझदेखि अवरुद्ध बुटवल-बुर्तिबाङ सडकखण्डको रुद्रवेणी-वामी सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । कालीगण्डकी करिडाेर सडक भने अझै अवरुद्ध रहेको छ ।