गुल्मी — कालीगण्डकी करिडोरमा आठ किलोमिटर क्षेत्रमा तीनवटा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । तीमध्ये एक स्थानको पहिरो हटाइसकिएको छ भने बाँकी दुई स्थानमा हटाउने कार्य जारी छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, कालीगण्डकी गाउँपालिका–१ गरगरे, वडा नम्बर २ मुल्क र वडा नम्बर ३ कनौटामा आइतबार साँझ पहिरो खसेको थियो । गरगरेको पहिरो हटाइसकिएको र बाँकी दुई स्थानमा हटाउने क्रम जारी रहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
यस वर्षायाममा कालीगण्डकी करिडोर पटक–पटक छिनभरमै अवरुद्ध हुने गरेको छ । जसका कारण यात्रुहरूलाई ठूलो सास्ती खेप्नुपरेको छ । करिडोर हुँदै सञ्चालन हुने सार्वजनिक तथा स्थानीय सवारीसाधनमा यात्रा गर्नेहरू मारमा परेका छन् ।
यता, गुल्मीमा अवरुद्ध रिडी–तम्घास र रुद्रवेणी–वामी सडक भने खुलिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।