सञ्चारको परिवर्तन : चिठीपत्रदेखि डिजिटल संवादसम्म



सन्तोष महतारा


गुल्मी — आफन्तलाई सन्चोबिसन्चोको खबर होस् वा सरकारी सूचना, पछिल्लो समय सूचना प्रविधिमा आधारित सामाजिक सञ्जाबाट एकैपटक लक्षित वर्गसम्म पुग्ने गरेको छ । फेसबुक, ट्विटर, म्यासेन्जरजस्ता सञ्जालले सूचना दिने र लिने दुवैलाई सहज बनाइदिएको छ ।

Advertisement

साथै स्थानीय सरकारदेखि अन्य सरकारी कार्यालय, वित्तिय संस्था, क्लब, आमा समूहहरुले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालको माध्यमबाट आन्तरिक होस् वा सार्वजनिक सूचना एकैपटक हरेककहाँ पुग्ने गरेको छ । तर, सञ्चार मन्त्रालयमा बिहीबार बसेको बैठकले मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि सर्वसाधारण अन्योलमा परेका छन् ।

Advertisement

गुल्मी मालिका गाउँपालिका–८ का कृष्णबहादुर खड्का भारतीय सेनामा कार्यरत थिए । २०६० कात्तिक १९ गते लडाइँमा परेर २९ वर्षमै उनको मृत्यु भयो । परिवारले चार दिनपछि मात्रै मृत्युको खबर पाए । सूचनाका प्रशस्त आधार र माध्यम नहुँदा खबर ढिला भइसकेपछि परिवारजनले दाहसंस्कारमा सहभागी हुन सकेन । श्रीमती सिर्जना खड्काले मृत्युको खबर चिठीबाट प्राप्त गरेकै आधारमा सिन्दुर मेटाउन र चुरा फुटाइन् । चिठीबाटै सूचना पाएपछि उनी भारत गएकी थिइन् । पछि पेन्सनका लागि कागजी प्रक्रिया मिलाउन आफन्तले सहयोग गरे ।

Advertisement

भारतीय सेनामा कार्यरत मालिकाकै अर्जेकी टोपली पराजुलीका छोरा जितबहादुरले २०४८ मा आमाको मृत्यु भएको खबर पाउन घरबाट रजिष्ट्ररी चिठी गएपछि ७ दिनपछि थाहा पाए । जितबहादुरको भारतीय सेनामा अवकाशको २२ वर्षपछि २०७९ माघमा मृत्यु भयो । उनका छोरा घनश्याम पनि भारतीय सेनाबाट हालैमात्र अवकाश भए ।

उनले २०५८ मा आफ्नै छोरा जन्मिएको सुखद खबर सुन्न पनि अर्को दिनसम्म टेलिफोन कुर्नपरेको थियो । प्रतिमिनेट ३५ रुपैयाँ कलमा दूरसञ्चार कार्यालयबाट उनले उक्त खबर पाएका थिए । ‘सूचनाको पहुँच पहिले चिठी र पछि टेलिफोनमा मात्रै थियो,’ उनले भने, ‘समयमा पाउने त सम्भावना नै थिएन, धेरैदिन कुर्नुपर्थ्यो ।’

रेसुंगा नगरपालिका–६ का ७४ वर्षीय डिल्लीराज पोखरेल अवकाश प्राप्त शिक्षक हुन् । उनी २०२९ मा सेउघा प्राथामिक विद्यालयका प्रधानाध्यापक थिए । विद्यालयमा प्रधानाध्यापक परिवर्तन भएको खबर प्रत्येक घरमा चिठी लेखेर पठाउनुपर्थ्यो । ‘ठूला सूचना रेडियोबाट सुनिथ्यो, अरु माध्यम थिएन,’ उनले भने, ‘विद्यालयमा केही निर्णय हुँदा चिठी लेखेर घरघरमा जानकारी गराइन्थ्यो ।’ अहिले स्मार्ट फोन बोकेका पोखरेलले त्यो दिन सम्झिइरहन्छन् ।

२२ वर्ष अगाडि ८ वर्ष कोरिया बसेका मुसिकोट नगरपालिका–७ का गणेश सापकोटाले कुनै दिन पनि परिवारसँग खबर सोध्न पाएनन् । उनले सञ्चोबिसञ्चोको खबर थाहा पाउन चिठी नै आदानप्रदान गर्नुपरेको विगत सम्झन्छन् । ‘काठमाडौंमा लाइन लागेर सिमकार्ड र कपिलवस्तु गएर सिडिएमए फोन ल्याएर चलाउन पर्थ्यो,’ उनले भने, ‘अहिले हातहातमा मोबाइल छ, सेकेन्डभरमै संसारभर कुरा हुन्छ ।’ उनले आफू विदेशमा हुँदा कुरा गर्न नपाएको तर अहिले विदेशमा रहेका सबै साथीहरुसँग ग्रुप बनाएर एकैपटक कुरा हुँदा अचम्म लाग्ने गरेको बताए ।

अहिलेको प्रविधिको युगलाई देख्दा पुराना पुस्ता अचम्मित पर्छन् । विस्तारै विकसित प्रविधि विकासले अघिल्ला र पछिल्ला दुवै पुस्तालाई समेट्न थालेको छ । सामाजिक सञ्जालको विकासले सूचना आदानप्रदान छिनभरमै हुनेगरेको छ । देशविदेशमा रहेकालाई जन्ममृत्युका खबरदेखि गाउँटोलमै सूचना बाँड्नेसम्म छिनभरमै हुने गरेका छन् । पछिल्लो समय रेडियो, पत्रिकामा सीमित समाचार पनि सामाजिक सञ्जालमार्फत मोबाइलमै पाउन थालेका छन् ।

पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष जर्नादन घिमिरेले २५ वर्षअगाडि समाचारका सामग्री हातले लेखेरै हुलाक पुगेर सञ्चार संस्थामा पठाएको सुनाए । ‘सूचना दिनलिन दुवै सहज थिएन,’ उनले भने, ‘अहिले समाजिक सञ्जालले छिनभरमै आदानप्रदान भइरहेको छ ।’

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष युवा व्यवसायी तारा भुसालले सामाजिक सञ्जालको प्रयोगले व्यवसायमा सहयोग पुगेको बताए । ‘अहिले व्यवसायका लागि सटर खोलेर कुरेर बसिरहनुपर्दैन,’ उनले भने, ‘सीमित कोठाबाट अनलाइनमै असीमित व्यापार गर्न सकिन्छ ।’

आफ्ना कुनै सामग्रीको ब्रान्डिङ गर्न सामाजिक सञ्जालमा राखे पुग्ने उनले बताए । सामाजिक सञ्जालका कारण सबै नागरिकको सूचनामा समान पहुँच भएको उनको भनाइ छ । ‘एक क्लिक गरेकै भरमा संसारभर सूचना पुगिरहेको छ । सूचनाकै लागि अरुको भर परेर हारगुहार गर्नुपर्ने बाध्यताको छैन,’ उनले भने ।

स्थानीय तहहरुबाट पनि शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीका सेवासुविधा र असुविधाको सूचना पनि तत्कालै प्रदान हुने गरेको छ । फेसबुक, म्यासेन्जर, टिकटक, ह्वाटसप, भाइबर र एक्सलगायतका माध्यम यसका सहयोगी बनेका छन् । पछिल्लो प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगले युगान्तकारी परिवर्तन गरेको भुसालले बताए । तर, सरकारले सामाजिक सञ्जाल बन्दको निर्णयले निकै दु:ख लागेको उनको भनाइ छ ।

विश्लेषक गणेश श्रीपाली सामाजिक सञ्जालले सूचनाको सहज पहुँच र अभिव्यक्त हुने अधिकार सबैमा समान रहेको बताउँछन् । ‘सन्देशमूलक सामग्री हेरेर सकारात्मक ज्ञान लिन सकिएको छ,’ उनले भने, ‘सूचनाको प्रापक र प्रेषक सबै हुने माध्यम बनेको छ ।’ फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालका माध्यमले थुप्रै प्रतिभा बाहिर आएको उनले बताए । सामाजिक सञ्जालले भौतिक रुपमा टाढा रहेकालाई जोडेको, सबैलाई अपटेड बनाएको र केही बिर्सने कुरा पनि सम्झाउने गरेको श्रीपालीले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया