गुल्मी । गुल्मी बडिगाडपूर्व इलाका प्रशासन कार्यालय निकै आवश्यक छ । तर अहिले भर्खरै सरकारले गरेको निर्णयमा गुल्मी परेन् । धेरै पहिलेबाट आवश्यकताको महसुस भए पनि सर्वसम्मत निर्णय भएको थिएन । अहिले पनि अवसर गुमेकाले विशेष गरेर नेतृत्व तहबाट सर्वपक्षिय निर्णयको बहस चलेको छ । तर प्रशासन कार्यालय राख्ने स्थानका विषयमा स्थानीय तहहरुबिच भूगोलको धुव्रिकरण सुरु भइसकेको छ ।
अहिलेसम्म रुरु क्षेत्र गाउँपालिकाको रिडीमा इलाका प्रशासन कार्यालय राख्ने विषयमा स्वयम रुरुक्षेत्र गाउँपालिका र कालिगण्डकी गाउँपालिका सहमत छन् । उनीहरुको भेला बसेर रिडीमै राख्ने निर्णय गरेका छन् । रुरु क्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले जिल्ला समन्वय समिति र सुरक्षा समितिसहित पालिकाका प्रमुख र राजनीतिक दललाई खबर गरेपनि रुरुक्षेत्र र कालीगण्डकीका प्रमुख तथा दलहरुबिच छलफल गरेर रिडीमा इलाका प्रशासन कार्यालय राख्न प्रस्ताव गर्ने निर्णय गरिएको बताउनुभयो ।
ज्ञवालीले कालिगण्डकी, सत्यवती, रुरुक्षेत्र, चन्द्रकोट, छत्रकोट र गुल्मी दरवारको समेत पायक पर्ने स्थान रिडी भएको दाबी पेश गर्नुभयो । उहाँले प्राथामिक स्वास्थ्य केन्द्रको भवनबाट इलाका प्रशासन कार्यालय सञ्चालनका गर्दा पूर्वाधारका लागि खर्च पनि नहुने, रिडी बजार भूगोल, सेवा सुविधा र जनघनत्वका हिसावले अत्यन्तै महत्त्वपूूर्ण भएकाले अरु पालिकाले असहमति जनाउनुपर्ने अवस्था नरहेको बताउनुभयो । तर सत्यवति, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको रिडीको विषयमा असहमति रहेको छ ।

चन्द्रकोट गाउँपालिकाका प्रमुख युवराज खत्री क्षेत्रीले नेतृत्वमा मुसिकोट, चन्द्रकोट र गुल्मीदरवारका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलहरुसहित सरोकारवालाको भेलाले चन्द्रकोट गाउँपालिका–८ को मजुवामा प्रशासन राख्ने सर्वसम्मत निर्णय गरेका छन् । मालपोत र नापी, बहुप्राविधिक शिक्षालय, बैंक तथा बितिय संस्था, प्रहरीचौकीसहित प्रशासन राख्ने भवनहरु पनि भएकाले मजुवा राख्ने र जिल्ला प्रशासनमार्फत इलाका र वामी तथा शान्तिपुरको प्रहरीचौकीको स्तरवृद्धिका लागि गृहमा माग गर्ने निर्णय भएको क्षेत्रीले बताउनुभयो ।
गाउँपालिका प्रमुख क्षेत्रीका अनुसार भेलामा मजुवाको मालपोत र नापीबाट सेवा पाइरहेका गुल्मीदरवारका दुई, मुसिकोटकाका पाँच, सत्यवति र चन्द्रकोट आठ/आठ र कालिगण्डकी सात गरेर ३० वडा रहेका छन् । अहिलेसम्म चन्द्रकोटसहित मुसिकोट र गुल्मीदरवार पनि मजुवामै इलाका प्रशासन राख्ने पक्षमा उभिएको छन् । तर दुई कार्यालय चन्द्रकोटले पहिलेनै पाइसकेकाले जुहाङ्गमा इलाका प्रशासन राख्नुपर्ने मागको बहसमा सत्यवति रहेको छ ।
सत्यवति गाउँपालिका–३ का वडाध्यक्ष जितु तरामुले गाउँपालिका प्रमुख टीकाराम पाण्डे भेलामा सहभागी भए पनि सत्यवतिमै इलाका प्रशासन हुनुपर्ने मागससहित असमति राखेर फर्किएको बताउनुभयो । तरामुले मजुवाको विषयमा आफुहरुको पूर्ण असहमति रहेकाले आवश्यक परे रुद्रवेणीका लागि पहल गर्ने बताउनुभयो । गोरखापत्र अनलाइनबाट साभार