भत्तामा परिचयपत्र अनिवार्य भएपछि अशक्तलाई सास्ती



सन्तोष महतारा


गुल्मी । गाडी चढ्न र ओर्लन मात्रै होइन, यताउता हिड्न पनि अर्कैको सहारा चाहिन्छ । दायाँ खुट्टा नचलेपछि बैशाखीको भरमा अडिनुपर्छ । होइन, भने भुँइमै भएपनि बस्नुपर्ने बाध्यता छ । उमेरले ७४ वर्ष पुगेका इस्मा गाउँपालिका–२ का टीकाबहादुर रायमाझी बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालयको गेटअगाडि सवारी पर्खिरहेका थिए ।

Advertisement

सरकारले सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि रायमाझी कार्यालय आएका थिए । ज्येष्ठ नागरिक, त्यसैमाथि अपाङ्गता भएका व्यक्ति भएपछि उनी सेवा त समयमै पाए । तर पनि बुढेशकालमा परिचयपत्र अनिवार्य गरेपछि उनले सास्ती खेप्नुपरेको छ ।

Advertisement

‘यो कार्ड नबनाएपछि भत्ता मिल्दैन् भन्छन्,’ उनले भने, ‘दुःख भएपनि कार्ड बनाउनै पर्‍यो, बुढेशकालमा झन्झट बेहोनुपर्‍यो ।’ उनी इस्माका अघिल्लो वर्षको बैशाखमा भएको आगलागी पीडित समेत हुन् ।

Advertisement

सोही ठाउँबाट राष्ट्रिय परिचयपत्र बनाउन आएकी ७७ वर्षीया तारादेवी नेपाली पनि टीकाबहादुरकै जस्तो समस्याबाट ग्रसित छिन् । उनी पनि गाडाी चढ्न र ओर्लन अनि यताउता हिड्न पनि अर्कैको सहारा लिनुपर्छ । ‘भत्ताका लागि परिचयपत्र अनिवार्य भएछ,’ उनले भनिन्, ‘अहिलेसम्म सजिलै थियो, बीचमा आएर अनिवार्य गर्दा अप्ठ्यारो भयो ।’ प्रशासनमा काम भएको कार्यालय अगाडि गाडी पर्खैको उनले बताइन् ।

मलिका गाउँपालिका–७ बाट परिचयपत्र बनाउन आएकी ६८ वर्षीया फुर्सी बिकले नयाँ बनाएको परिचयपत्र बिग्रेपछि समस्या भएको गुनासो गरिन् । ‘गाउँमा शिविर जाँदा परिचयपत्र बनाएकी हुँ,’ उनले भनिन्, ‘चाहिने बेलामा नामोनिसाना भेटिएन, फेरि आएर बनाउनुपर्‍यो ।’ उनले एउटै कार्डका लागि दुई पटक दुःख पाउनुपरेको बताइन् ।

उनीहरू मात्रै होइन, अहिले सरकारले सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा परिचयपत्र बनाउने र कार्ड लैजानेको भीड लागेको छ । जसमा एकदमै वृद्धवृद्धा समेत रहेका छन् । ज्येष्ठ नागरिकलाई प्राथामिकताका साथ सेवा दिएपनि उनीहरूले आउजाउमा सास्ती खेप्नुपरेको छ । कतिपय ज्येष्ठ नागरिकलाई साथमा लिएर आउने आफन्त नहुँदा उनीहरूले थप दुःख पाइरहेको दृश्य समेत देखिएको थियो ।

परिचयपत्र बनेपछि जिल्ला प्रशासन कार्यालय अगाडि गाडी कुरिरहेका टीकाबहादुर रायमाझी र तारादेवी नेपाली ।

इस्मा गाउँपालिकाका कार्यपालिका सदस्य डोलबहादुर नेपालीले गाउँमा रहेका सहयोग चाहिने ज्येष्ठ नागरिकलाई आफूले सहजीकरण गरेर सहयोग गरेको बताए । ‘अशक्त बुबाआमालाई आउजाउमा सहयोग गरिरहेको छु,’ उनले भने, ‘यही महिनामा मात्रै चार पटक ज्येष्ठ नागरिकलाई लिएर आएँ ।’ उनले निस्वार्थ सेवा रहेको बताए ।

हाल गुल्मी जिल्लामा वडा भएको शिविरबाट दर्ता भएका १ लाख १९ हजार परिचयपत्र मध्ये ६० हजार १ सय ६८ वटा वितरण भइसकेको जिल्ला प्रशासन कर्यालय गुल्मीका कम्प्यूटर अपरेटर तारा भण्डारी बोहराले जानकारी दिइन् । साथै जिल्ला प्रशासन कार्यालयबाटै दर्ता भएका मध्ये ५० हजार २ सय परिचयपत्र आएका मध्ये २३ हजार परिचयपत्र वितरण भएको उनले बताइन् । गुल्मीमा अहिले दैनिक औसतमा नयाँ राष्ट्रिय परिचयपत्र बनाउनेको संख्यामा १ सय २० र वितरण संख्या १ सय वटा रहेका छन् ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाले जनशक्ति बढाएर सहज सेवा प्रदान गरिरहेको बताए । ‘अब चाडपर्वमा झन् सेवाग्राही बढ्छन्, सकेसम्म सहज बनाउने प्रयास गरेका छौं,’ उनले भने, ‘स्थानीय पालिकाबाट घुम्ती शिविर गरेर वितरण थालेका छौं ।’ जून बुधबारदेखि मदाने गाउँपालिकाबाट सुरु भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया