गुल्मी —सदरमुकाम तम्घासको एक वर्कसपमा सोमबार दिउँसो विद्युत् सर्ट भएर आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ। तम्घास बसपार्क पेट्रोल पम्प नजिकै रेसुङ्गा नगरपालिका–८ स्थित सुजाता अटो वर्कसप एन्ड पार्ट्स सेन्टरमा एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको थियो।
धुर्कोट गाउँपालिका–१ नयाँ गाउँ स्थायी घर भएका विक्रम सुनारले सञ्चालन गर्दै आएको उक्त वर्कसपमा भएको आगलागीबाट झन्डै ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।
यो पनि पढ्नुहोस्…
आगो निभाउने क्रममा सामान्य घाइते भएका सञ्चालक सुनार गुल्मी अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। वर्कसपका सबै सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। उक्त वर्कसप रहेको भौतिक संरचनामा पनि अधिकांश क्षति पुगेको छ।
सबै सामग्री र भौतिक संरचना गरी कुल ६० लाख रुपैयाँ बराबरको क्षति भएको वर्कसप सञ्चालक सुनारले प्रहरीलाई जानकारी गराएका थिए। वर्कसपमा विभिन्न प्रकारका मोटरका महत्त्वपूर्ण पार्ट्ससहित अन्य सामग्रीहरू जलेर नष्ट भएका थिए।
दमकल, प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा ल्याइएको आगलागीले नजिकै अन्यत्र भने क्षति पुगेको छैन। आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीको कमाण्डमा ४५ जनाको प्रहरी टोली खटिएको थियो।
आगलागीले भयानक रूप लिएपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट लगिएका साना फायर गनले नियन्त्रण गर्न सकेका थिएनन्। दमकलको प्रयोगबाट भने आगो नियन्त्रणमा आएको थियो। आगो निभाउन रेसुङ्गा नगरपालिकाको दमकल, जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, नगर प्रहरी र स्थानीयले सहयोग गरेका थिए।
विद्युत् सर्टका कारण समय–समयमा आगलागी हुने गरेको छ। जसबाट ठुलो मात्रामा जनधनको क्षति भए पनि यसबारे सचेतनाका कार्यक्रम भने भएका छैनन्। यस्ता आगलागीबाट अनायासै ठुलो क्षति बेहोर्नुपरेको छ। कान्तिपुर







