गुल्मी रातामाटाको त्रिभुवन माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न



केशव गौतम


गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिका १४ रातामाटामा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयमा शुक्रबार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने श्रीपञ्चमी पर्वको अवसरमा आयोजित कार्यक्रममा ६ जना नव आगन्तुक बालबालिकाहरुले अक्षर लेखनको औपचारिक आरम्भ गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

Advertisement

बालबालिकाहरुको लागि शैक्षिक सत्र बैशाखबाट सुरु हुने भएतापनि सरस्वती पूजाको दिनदेखि अक्षर लेखन सुरु गराउदा विद्याकी देवी सरस्वतीको कृपाले नविन कामको थालनी गर्ने जो कोहीलाइ पनि सिकाइ सहज हुने र बढि लाभ मिल्ने प्रधानाध्यापक तिलकराम गौतमले बताउनुभयो ।

Advertisement

सरस्वती पूजाको अवसरमा विद्यालयमा अभिभावक र विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा पूजा कार्यक्रम आयोजना सम्पन्न भएको छ। सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमका क्रममा विद्यालयका साना बालबालिकाले सरस्वतीको आराधना,गायन र नृत्य प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको गतिविधिहरूले कार्यक्रममा थप आकर्षण र यसले शिक्षा र संस्कृतिको महत्त्वलाई विद्यालयमा गम्भीरतासाथ मनाउने सन्देश दिएको विद्यालयका प्रधानाध्यापक तिलकराम गौतमले बताउनुभयो।

यो वर्ष गत वर्षको तुलनामा कार्यक्रम अझ भव्यरुपमा आयोजना गरिएको र आगामी वर्षमा यसभन्दा उत्कृष्ट कार्यक्रमको योजना रहेको छ। यस कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण र समुदायसँगको समन्वयलाई अझ सुदृढ बनाएको छ।

साथै, त्रिभुवन माध्यमिक विद्यालयले निःशुल्क भर्नाको अवसर प्रदान गर्दै ६ जना भन्दा बढी नयाँ विद्यार्थी भर्ना गरेको विद्यालय जनाएको छ । भविष्यमा नयाँ पिढीलाई शिक्षा र संस्कृतिमा अगाडि बढ्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको विद्यालयका सह प्रधानध्यापक दुर्गा प्रसाद गौतमले जानकारी दिनुभयो।

त्रिभुवन माध्यमिक विद्यालयका शिक्षकले विद्यालयमा अवस्थित सरस्वती पूजाको लागि मण्डप तयार पारी पण्डित रुद्रप्रसाद आचार्यले पूजा विधि आरम्भ गरी अध्ययनरत सम्पुर्ण विद्यार्थी र शिक्षक मार्फत पूजा आराधना गरी नव आगन्तुक बालबालिकाहरुलाइ अक्षर लेखनको सुरुवात गराइ टिका लगाएर शैक्षिक सामग्री, प्रसाद वितरण गरी भजन किर्तनसमेत गरिएको विद्यालयका सह प्रधानध्यापक गौतमले जानकारी दिनुभयो।

पहिलोपटक विद्यालय आएका नव आगन्तुक बालबालिकाहरु पेन्सिल, कापी, प्रसाद र अन्य फलफुल सङ्गै समुहमा भजनकिर्तनमा नाचगान गरेको देख्दा प्रफुल्ल देखिएका थिए । श्री त्रिभुवन माध्यमिक विद्यालयमा हाल कक्षा बालविकासदेखि कक्षा १० सम्म अध्ययन अध्यापन हुने गरेको छ ।

विद्यालयमा अहिले १ सय ६९ भन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन । सरस्वती पूजाको दिन श्री त्रिभुवन माध्यमिक विद्यालय सङ्गसङ्गै रेसुङ्गा नगरपालिका लगायत देशैभर सोही अवसरमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएका छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया