गुल्मी । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर–१० स्थित पोडेटोलमा दिनदहाडै भएको खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ। गुल्मीको धुर्कोट गाउँपालिका घर भएका विपिन घिमिरेमाथि तीन जनाको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका घिमिरेलाई तत्काल उपचारका लागि देवढोका स्थित कीर्तिपुर अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र उनीहरूको खोजी कार्य तीव्र पारिएको छ। प्रारम्भिक अनुसन्धानबाट आक्रमणमा संलग्नहरू यसअघि पनि विभिन्न मुद्दामा मुछिएका व्यक्तिहरू रहेको खुलेको छ। मृतक घिमिरे र आक्रमणकारीहरूबीच पहिले देखिनै चिनजान रहेको पनि खुलेको प्रहरीले जनाएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले दिनदहाडै सार्वजनिक स्थानमै भएको हिंसात्मक आक्रमणप्रति स्थानीयमा त्रास सिर्जना गरेको छ। प्रहरीले दोषीलाई छिट्टै नियन्त्रणमा लिने र घटनाको वास्तविकता सार्वजनिक गर्ने जनाएको छ।





