गुल्मीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ



नागरिक अपडेट


सन्तोष महतारा,गुल्मी । गुल्मीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ सिस्न्यारा पातल सामुदायिक वनमा आगो लगाउने सोही स्थानका दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय राजकुमार पन्थी क्षेत्री र ४१ वर्षीय राजु जिसी पक्राउ परेको डिभिजन वन कार्यालय गुल्मीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्धा चलाउने तयारी गरिएको छ । पक्राउ परेका उनीहरुलाई तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरले बताए ।

आरोपी दुवै जनाले सामुदायिक बनमा आफूहरुले आगो लगाएको स्विकार गरेका छन् । उनीहरुलाई नेटा बजारबाट आइतबार पक्राउ गरिएको थियो । उनीहरुले गत ७ गते आगो लगाएर फरार भएका थिए । डिभिजन वन कार्यालय गुल्मीले पत्रकार सम्मेलनको क्रममा गाउँमा बस्ती रित्तिदैं गएको र झाडी बढ्दै जाँदा आगलागीका घटना बढिरहेको निमित्त बन अधिकृत पंकज कुमार ठाकुरले बताए ।

उनले सल्लाका रुख काट्ने बहस भइरहेको भन्दै केही नहुने ठाउँमा सल्ला भएकोले सल्ला काट्नको सट्टा सल्लीपलर (सल्लाका पात) सफा गर्दा समस्या समाधान हुने बताए । आगो कुनै ब्यक्तिको लापरबाहीबाट लागेको र त्यसले ठुलो क्षति गरेको भन्दै जनचेतना ,जगाउनु नै मुख्य काम भएको पत्रकार सम्मेलनका क्रममा ठाकुरले बताएका छन् । उनले आगो लगाएको सुराकी दिने ब्यक्तिलाई गोप्य रुपमा पुरस्कार प्रदान गरिने पनि जानकारी दिए ।

हाल गुल्मीका १२ स्थानीय सरकारका ८० सामुदायिक वनमा आगो लागेको छ । आगलागीबाट दुई हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको इस्मा, मदाने र गुल्मीदरबारमा घरगोठमा थुप्रै क्षति भएको छ । घटनास्थलमा राहात र उद्धारको काम भइरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया