टोपलाल अर्याल,गुल्मी । गुल्मीको चिदिचौर खेल मैदानमा संचालन भएको प्रथम रेसुंगा मेयरकप फुटबल प्रतियोगिता २०८१ को उपाधी रेसुंगा नगरपालिका–८ ले प्राप्त गरेको छ । नगरपालिका भित्रका वडाहरुबिचको प्रतिस्प्रर्धामा वडा नं १ र ८ फाइलन चरणमा प्रवेश गरेका थिए ।
वडा नं ८ ले वडा न १ लाई १ का विरुद्ध ४ गोल गरेर उपाधी प्राप्त गरेको हो । प्रतियोगिताको विजेता नगद वडा नं ८ ले नगद ३५ हजार, मेडल र प्रमाणपत्र तथा उपबिजेता वडा नं १ ले नगद २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको मेयर कप फुटबल प्रतियोगिता उपसमिति संयोजक गिरिप्रसाद महाकिमले जानकारी दिए ।
प्रतियोगितामा बेस्ट प्लेयर तथा सर्वाधिक गोलकर्ता बिनोद आले, इमर्जिङ प्लेयर विशेष श्रेष्ठ, बेस्ट डिफेन्डर बिक्रमसिह बुढा, बेस्ट गोलकिपर सुर्य थापा, म्यान अफ द म्याच बिजय खरेल र बेस्ट मिड फिल्डर अर्जुन मरासिनीलाई पुरस्कृत गरिएको महाकिमले बताए ।
प्रतियोगीताको लागि नगरभित्रका १२ समुहले नाम दर्ता गराएका छन् । खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्रीले खेल क्षेत्र र खेलाडीको बिकासको लागि तिनै तहका सरकार एकजुट हुनुपर्ने बताए । सघियता कार्यान्वयनसगै गाउँ-गाउँमा खेल प्रतिको उर्जा बढ्दै गएको छ ।
रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले युवाहरुको खेलप्रतिको सक्रियताले आफुहरुलाई खेल क्षेत्रको विकासमा नयाँ उर्जा प्राप्त भएको बताए । उनले नगर आफै पनि प्रतियोगीताहरु गर्ने, खेलाडी र क्लवहरुलाई प्रोत्साहन गर्ने कार्य गर्दै आएकाले निरन्तरतामा आफ्नो जोड हुने बताए ।
नगर स्थापना दिवसको अवसरमा नगरपालिकाले बिपद्को बेला खट्ने नगरका दमकल चालक कमल पन्थीसहितका कर्मचारी, जिल्लाका सुरक्षा निकाय, शैक्षिक सामाजिक क्षेत्रमा योगदान गर्ने दिन पन्थी, योगराज कंडेल, नगरमा लामो समय काम गरेर सेवानिबृत कर्मचारीसहित दर्जनौ व्यक्तिहरुलाई सम्मान गरेको छ । त्यस्तै नगरपालिकालाई पूर्ण पोषण मैत्री स्वास्थ्य संस्थायुक्त नगरपालिका र पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ ।
पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्नेमा जिल्लाका १२ स्थानीय तहहरुमध्ये रेसुंगा नगरपालिका चौथो हो । यसअघि गुल्मीदरबार, छत्रकोट र धुर्कोट गाउँपालिकाले घोषणा गरिसकेका छन् । त्यस्तै नगरपालिकाले पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गरेको छ ।
गुल्मीलाई २०७१ साल चैत ३० गते नेपालमै सातौँ जिल्लाको रुपमा पूर्ण खोप घोषणा गरिएको थियो । त्यसपछि प्रत्येक वर्ष पूर्ण खोप दिगोपन सुनिश्चितता घोषणा गर्ने गरिएको छ । नगर स्थापना दिवसकै अवसरमा प्रभातफेरिदेखि कर्मचारी र जनप्रतिनिधीबिच मैत्रीपूर्ण फुलवल प्रतियोगीता सम्पन्न भएको रेसुंगा नगरपालिकाका सूचना अधिकारी पिताम्बर पन्थीले जानकारी दिए ।