टोपलाल अर्याल, गुल्मी। गुल्मी इस्माका अग्निपीडितलाई दायित्व र नेपाल राइजिङको सहयोगमा जस्तापाता प्रदान गरिएको छ। इस्मा गाउँपालिका– ४ कोटकोटेरी र मड्किनाका आगलागी–डढेलो प्रभावित घरधुरीलाई राहत तथा पुनर्स्थापनामा सहजीकरण गर्न जस्तापाता वितरण गरिएको सञ्जय पोख्रेलले बताए।
डढेलोबाट प्रभावित घरधुरीलाई तत्काल राहत उपलब्ध गराउने, सहयोगी प्रयासहरूमार्फत सामुदायिक आत्मबललाई बलियो बनाउने, पुनर्स्थापनाका प्रयासहरूमा सक्रिय रूपमा सहभागी हुन स्थानीय सरोकारवालाहरूलाई सशक्त बनाउने एवं दीर्घकालीन रूपमा पुनर्स्थापित र पुनर्निर्माण प्रयासहरूका लागि जग बसाउने उद्देश्यले जस्तापाता वितरण गरिएको पोख्रेलले बताए।
दायित्व र नेपाल राइजिङको सहयोगले अग्नि प्रभावितहरू खुसी भएका छन्। दुई संस्थाले ८ फुटे ८५ थान जस्तापाता प्रदान गरेको इस्मा गाउँपालिका– ४ का वडाअध्यक्ष राजु बस्नेतले बताए।
२६ सय मिटर पाइप सहयोग
इस्मा गाउँपालिका– ४ का अग्निपीडितलाई २६ सय मिटर पाइप सहयोग प्राप्त भएको छ। प्रभावित क्षेत्र कोटकोटेरी र मड्किनामा आगलागीले सार्वजनिक तथा व्यक्तिगत पानीका पाइपहरू जलेर नष्ट भएका छन्।
पञ्चकन्या कम्पनीको सहयोगमा पीडित परिवारलाई राहत दिने उद्देश्यले गाउँमै पुगेर २५ एमएमको १५ सय मिटर पञ्चकन्या पाइप र ६० हजारबराबरको दाल, चामल, तेललगायतका सामग्री प्रदान गरिएको इस्मा– ४ का वडाध्यक्ष राजु बस्नेतले बताए।
त्यस्तै, २५ एमएमको ११ सय मिटर पञ्चकन्या पाइप पुनः सहयोग प्राप्त भएकाले सहयोग गर्ने पञ्चकन्या कम्पनी र सहजीकरण गर्ने सन्तोष केसी, रामजी केसी, खिम खड्का, चन्द पराजुली र रामचन्द्र अर्याललाई बस्नेतले धन्यवाद दिए। नयाँ पत्रीकाबाट साभार