रेसुंगामा लायन्स क्याबिनेट बैठक
टोपलाल अर्याल,गुल्मी । गुल्मीको पर्यटकीय क्षेत्र रेसुंगा लायन्सको क्याबिनेट बैठक सकिएको छ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ एममा आबद्ध देशभरका लायन्सकर्मीहरूको उपस्थितिले रेसुंगामा छुट्टै रौनकता छाएको थियो । बैठक समग्र जिल्ला र रेसुंगाका लागि ऐतिहासिक र निकै उपलब्धिमूलक रहेको आयोजकको दाबी रहेको छ ।
आफूहरूले सोचेभन्दा करिब २० प्रतिशत लायन्सकर्मी उपस्थित नभए पनि विभिन्न जिल्लाका व्यक्तिहरूले रेसुंगा टेक्न र बुझ्न पाएको लायन्स क्लब अफ गुल्मी तम्घासका उपाध्यक्ष तथा कार्यक्रम संयोजक होमबहादुर पल्लीले बताए ।
ठूलो सहरहरूमा मात्र आयोजना हुने लायन्सको क्याबिनेट बैठक पहाडी जिल्लाको पनि रेसुंगामा सफल भएकोमा सर्वपक्षीय धन्यवाद व्यक्त गरे । क्याबिनेट बैठकको लुम्बिनी प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री दिनेश पन्थीले उद्घाटन गरेका थिए । यो कार्यक्रमले देशभर रेसुंगाको प्रचार गरेर पर्यटन प्रवर्द्धनमा टेवा पुर्याएको पन्थीले बताए ।
शनिबार तम्घासमा निकालिएको प्रभातफेरी र रेसुंगा क्षेत्रमा पुगेका विभिन्न जिल्लाका पर्यटकको कारण लायन्सको क्याबिनेट बैठकको चौतर्फी प्रशंसा भएको छ । रेसुंगामा देशभरका मान्छेहरू भेला हुने यो कार्यक्रममा सम्भवतः जिल्लाकै ठूलो हो । यो उपस्थिति रेसुंगासहित जिल्लाका लागि ठूलो अवसर हुन सक्छ ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ एमका प्रमुख गभर्नर भीम पौड्यालले संस्थाको गतिविधिहरूबारे प्रकाश पार्दै पोखरा र काठमाडाैंमा हुने कार्यक्रम आफ्नै जिल्लामा निकै भव्य रूपमा सम्पन्न गर्न सकेकोमा व्यवस्थापकीय क्लबहरूलाई धन्यवाद दिए ।
उनले मानवीयता र मानवीय सहयोग जीवनमा निकै महत्त्वपूर्ण हुने भएकाले सबैलाई साक्षात्कार गर्न आग्रह गरे । कार्यक्रममा रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ एमका विभिन्न तहका पदाधिकारीलगायतले भनाइ राखेका थिए । त्यस्तै, लायन्स क्लबले विपतमा पनि गुल्मेलीलाई ठूलो गुन लगाएको छ ।
राहत सामग्री प्रदान
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ एमले क्याबिनेट बैठकको पूर्वसन्ध्यामा जिल्लाभरका ५३ घर अग्निपीडितलाई करिब १६ लाख २८ हजारबराबरको राहत सामग्री प्रदान गरेको छ । केही ठाउँका स्वयं अग्निपीडित र केही ठाउँमा स्थानीय जनप्रतिनिधिमार्फत राहत रकम प्रदान गरिएको छ । प्रत्येक परिवारलाई २५ हजार प्याकेजको राहत सामग्री प्रदान गरिएको लायन्स क्लब अफ गुल्मी तम्घासका अध्यक्ष ईश्वरी कँडेलले बताए ।
आठ विद्यालयलाई सेनेटरी भेन्डिङ मेसिन प्रदान
साथै, जिल्लाका विभिन्न विद्यालयमा आठवटा सेनेटरी भेन्डिङ मेसिन प्रदान गर्ने जनाएको छ । कँडेलका अनुसार यसअघि गुल्मी अस्पतालमा करिब आठ लाखबराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको थियो । पहिरोबाट पीडत इस्मा, सत्यवती र दजाकोटका अग्निपीडितलाई पनि क्लबले लाखौँको सामग्री प्रदान गरेको छ ।
त्योबाहेक शृंगामा १६ लाखबराबरको स्वास्थ्य शिविर गरिएको कँडेलले जानकारी दिए । अहिले सत्यवती गाउँपालिका– ८ भार्सेमा दुई करोडबराबरको भवन निर्माण भइरहेको उनले बताए । साथै जिल्लाका विभिन्न ४० भन्दा बढी विद्यालयमा न्यानो कपडा वितरण गर्दै आएको क्लबले जनाएको छ ।