गुल्मीको रिडीमा आँखा उपचार केन्द्र स्थापना



नागरिक अपडेट


टोपलाल अर्याल, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका– १ को रिडीमा रुरु आँखा उपचार केन्द्रको स्थापना भएको छ । नेपाल नेत्रज्योति संघ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरु क्षेत्र गाउँपालिकाको समन्वय केन्द्र स्थापना भएको हो । शनिबार केन्द्रको रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले उद्घाटन गरे ।

जिल्लाको छैटौँ उपचार केन्द्रका रूपमा सेवा शुभारम्भ भएको छ । सोही अवसरमा बोल्दै रुरु क्षेत्र गाउँपालिका अध्यक्ष ज्ञवालीले तीन जिल्लाको केन्द्र पर्ने भएकाले रिडीमा आँखा उपचार केन्द्र स्थापना भएपछि धेरै नागरिकले सेवा प्राप्त गर्ने विश्वास लिएको बताए । उनले विभिन्न समयमा नि:शुल्क शिविरहरू सञ्चालन गर्ने गरिएको स्मरण गर्दै, गत वर्षदेखि मोतीविन्दुको नि:शुल्क शल्यक्रिया र अहिले केन्द्रनै स्थापना गरिएको बताए ।

जिल्लामा स्याथी रूपमा ०४५ सालबाट आँखा उपचार सेवा र ०४९ सालबाट नेपाल नेत्रज्योति संघले गाउँ–गाउँमा शाखा विस्तार गरेर पनि सेवा प्रवाह गरिरहेको छ । नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीका अनुसार वामी, शान्तिपुर, सिमलटारी र मदानेमा शाखा विस्तार गरिसकेको छ । अब कालीगण्डकीमा शाखा स्थापना हुनेछ ।

नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीले वार्षिक करिब ३३ हजार नागरिकको आँखाको उपचार र करिब पाँच सय नागरिकको शल्यक्रिया गर्ने गरेको छ । सघको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा ३२ हजार तीन सय ८१ जनाको आँखाको उपचार भएको छ ।

गत वर्ष ३४ हजार नागरिकको आँखाको उपचार गरिएको नेपाल नेत्रज्योति संघ गुल्मीका सचिव पदम पाण्डेयले जानकारी दिए । यो आर्थिक वर्षको आठ महिनामा करिब २१ हजार नागरिकको आँखाको उपचार भएको संस्थाले जनाएको छ । केन्द्रमा अहिलेसम्म १७ जना कर्मचारी कार्यरत रहेका छन् । नयाँ पत्रीका

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया