गुल्मी — जिल्लाको मदाने गाउँपालिका–६ धाराचौरमा सोमबार बेलुका विद्युत सर्टका कारण आगलागी हुँदा एक घरमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय टंक महतको दुईतले कच्ची घरमा साँझ करिब ६ बजेको समयमा अचानक आगलागी भएको हो। ढुङ्गा–माटोले बनेको र जस्ताले छाइएको उक्त घरमा विद्युत सर्ट हुँदा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाबारे स्थानीयले साँझ ६:३० बजे जानकारी गराएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी सहायक निरीक्षक विष्णु बहादुर गाहाको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। प्रहरी र स्थानीयवासीको सक्रिय प्रयासमा आगो करिब ६:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।
आगलागीबाट नगद करिब ५ लाख ७० हजार रुपैयाँसहित लत्ताकपडा, अन्नपात र फर्निचर जलेर नष्ट भएको छ। यद्यपि, घटनामा कुनै मानवीय वा चौपाया क्षति भने नभएको राहतको विषय बनेको छ।
यसैबीच, विद्युत सर्टबाट हुने यस्ता घटनाबाट बच्न पुराना तारहरूको समयमै मर्मत गर्न र घर बाहिर निस्कँदा विद्युत उपकरणहरू बन्द गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।





