अर्घाखाँची अस्पतालको डी–फ्रिजमा राखिएकै शव सड्यो



पत्रपत्रिकाबाट


अर्घाखाँची — अर्घाखाँची अस्पतालको डी–फ्रिजमा राखिएको शव नै सडेको पाइएको छ । सन्धिखर्क नगरपालिका–१ रतले का ३६ वर्षीय गणेश ताम्राकार साउन २ मा घरमै अचेत अवस्थामा परिवारले देखेका थिए । त्यसपछि अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

Advertisement

ताम्राकारले चुत्रावेशीस्थित रेन्बो मन्टेश्वरीमा तीन वर्षदेखि पढाउँदै आएका थिए । भारतमा बस्दै आएका उनका बुवाआमा आउँदासम्म शवलाई नजलाउने भनेपछि अस्पतालको डी–फ्रिजमा राखिएको थियो । उनका बुवाआमा आइपुगेपछि शव हेर्दा कुहिएर अनुहार नै चिन्न नसकिने अवस्थामा पुगेको मन्टेश्वरीका सञ्चालक रमेश चुँदालीले बताए । ‘गन्हाएर शवनजिक जानै सकिएन,’ उनले भने ।

Advertisement

मृतका आफन्तले अस्पतालको गम्भीर लापरबाहीका कारण शव कुहिएर चिन्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनीहरूले अस्पतालत अगाडि आइतबार केही समय विरोध समेत गरेका थिए । अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीले प्राविधिक समस्याका कारण डी–फ्रिजमा राखिएको शव सड्न पुगेको बताए ।

Advertisement

‘फ्रिजमा सात वर्षदेखि शव राखिँदै आएको छ,’ उनले भने, ‘अहिले समस्या आयो, ग्यास लिक भयो वा अरू कारणले हो, प्राविधिक कुरा हामीलाई थाहा हुँदैन ।’ डी–फ्रिजमा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नै राख्ने र शवको निगरानी गर्ने पनि उनले बताए । यसरी शव सड्नु डी–फ्रिजमा त्रुटि भएको तिवारीले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष बलाराम मिश्रले डी–फ्रिजमा राखिएको शव सड्नु गम्भीर समस्या र त्रुटि भएकाले यसको सत्यतथ्य छानबिन गरिने बताए । ‘सुरक्षित रहने शव किन कुहियो भन्नेबारेमा छानबिन गर्छौं,’ उनले भने, ‘यो दुःखद र गम्भीर कुरा भयो ।’

छानबिन समितिले अनुसन्धान गरेर दोषीलाई कारबाही गरिने उनले बताए । अस्पतालका मेडिकल अधिकृत डा. पवनकुमार शाह, अस्पताल विकास समिति अध्यक्ष बलराम मिश्र, पत्रकार महासंघका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, सम्बन्धित निकायका विज्ञ, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ र मृतका भाइ मोहन, कृष्ण र लक्ष्मण ताम्राकारसहितको छानबिन समिति गठन गरिएको अस्पताल विकास समितिका अध्यक्ष मिश्रले बताए ।

‘यो समस्या भयो, अब आइन्दा यस्तो नहोस् भनेर छानबिन समिति बनाएका छौं,’ उनले भने, ‘शवको सम्पूर्ण जिम्मा प्रहरीको हुन्छ, साँचो प्रहरीसँग हुन्छ ।’ ताम्राकारको आइतबार बेलुका गच्छेघाटमा दाहासंस्कार गरिएको छ । मृतक ताम्राकारका श्रीमती र ५ वर्षीय छोरा छन् । ईकान्तिपुरबाट साभार

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया