फोन नउठाएपछि घरमै गएर हत्या, भागेर फर्केपछि पक्राउ



पत्रपत्रिकाबाट


जनकपुर । धनुषामा हत्याको आरोपमा पाँच वर्ष जेल बसेर छुटेका एक युवक पुनः हत्या गरेकै आरोपमा पक्राउ परेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालकिा–९ निवासी रामबाबु साहलाई धनुषा प्रहरीले आज (बिहीबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

Advertisement

उनी गत सोमबार राति १४ वर्षीया अञ्जली यादवको हत्या गरी फरार थिए । हत्याको तीन दिनपछि प्रहरीले उनलाई बुधबार राति उनकै घरबाट पक्राउ गरेको हो । धनुषा प्रहरी प्रमुख एसपी नरहरी रेग्मीका अनुसार पक्राउ परेका साहसँगै घटनामा प्रयोग भएको खुकुरीसहित अन्य प्रमाण पनि फेला परेको छ ।

Advertisement

उनले हाल धनुषा उपमहानगरपालिका वडा नम्बर–४ मा बस्दै आएकी बटेश्वर गाउँपालिका वडा नम्बर–५ की आशादेवीकी १४ वर्षीय छोरी अञ्जली यादवको हत्या गरेको प्रहरीको आरोप छ । सोमबार राति करिब ११ बजे आशादेवी बस्ने घरमै पुगेर उनले आमाछोरी र भतिजी राधामाथि खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ ।

Advertisement

उक्त प्रहारबाट गम्भीर घाइते भएकी अञ्जलीको उपचार क्रममा मृत्यु भयो भने उनकी आमा आशादेवीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धरान पठाइएको छ । राधाको अवस्था भने सामान्य रहेको छ । पक्राउ परेका साह यसअघि २०७१ साल चैत २ गते आफ्नो जेठी श्रीमती सरिता देवीको हत्यामा आरोपमा पाँच वर्ष जेल बसेर ०७७ सालमा रिहा भएक थिए ।

फोन रिसिभ नगर्दा हत्या
कारागारबाट छुटेको दुई महिनामै दोस्रो बिहे गरेका साह र अञ्जलीकी आमा (आशादेवी) बिच क्षिरेश्वरनाथस्थित पसलमा चिनजान भयो । पसलमा आउजाउ बढ्दै गएपछि दुवैबिच भएको सामान्य चिनजान प्रेममा परिणत भयो ।

दुवैबिच हिमचिम पनि बढ्दै गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार साहले प्रहरी बयानमा भनेका छन्, ‘म जेलबाट छुटिसकेपछि मृतककी आमा आशा देवीसँग चिनजान भयो।

त्यसपछि मेरै सल्लाहमा उसले आफ्नो डेरा (जनकपुर) पनि लग्यो । अनि हाम्रो सम्बन्ध झनै गहिरिँदै गएको थियो ।’ साहले आशादेवीलाई टेम्पो खरिद गर्न पैसा दिएको पनि प्रहरी बयानमा भनेका छन् ।

‘तर त्यो टेम्पो आशाले पछि आफ्नो भाइको नाममा गर्‍यो, अनि त्यसपछि मसँग पनि टाँढाटाँढा बस्न थाल्यो । म जहिले फोन गर्दा खासै रेसपोन्स दिँदैन्थ्यो,’ प्रहरी बयानमा उनले भनेका छन्, ‘अनि विवादको दिन पनि म पटक–पटक फोन गरेँ, तर ऊ रिसिभ गरिरहेको थिएन, झन् छोरीलाई फोन थमाइदिइरहेको थियो ।’

त्यसपछि सम्बन्ध छिनोफानो गर्न आफू उक्त दिन आशादेवीको डेरामा पुगेको उनले बताएका छन् । ‘डेरामा पुग्दा उसले झन् अर्कैअर्कै व्यवहार गर्न थालेपछि विवाद हुन थाल्यो, अनि आशालाई प्रहार गर्दा छोरीलाई खुकुरी लागेको हो,’ उनले प्रहरीसँग बताएका छन् । र आवेगमा खुकुरी प्रहार गर्दा आशा र उनको भतिजीलाई लागेको उनले बयानमा भनेका छन् ।

कसरी पक्राउ परे ?
प्रहरी स्रोतका अनुसार घटना भएपछि साह सुरुमा क्षिरेश्वरनाथस्थितको आफ्नो घर पुगेका । घर पुगेको केही समयमै उनी आफ्नी कान्छी श्रीमतीलाई लिएर सिरहाको मिर्चैया हिँडेका थिए । यसरी श्रीमतीलाई माइत पुर्‍याएर उनी त्यहाँबाट पनि फरार भएका प्रहरी अनुसन्धानमा देखिएको छ ।

मिर्चैयाबाट साह सीधै काँकडभित्ता पुगेका अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृत बताउँछन् । ती अधिकारीका अनुसार फेरि बुधबार उनी जकनपुर फर्केका थिए । बजारमा हिँडिरहेको सूचना पाएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजाराम यादव बताउँछन् ।

उनले भने, ‘अभियुक्त आफ्नो घर आइसकेपछि त्यही दिन जनकपुर पनि गएका थिए, उनी जनकपुर गएको हामीलाई सूचना आयो । त्यसपछि सादा पोसाकमा प्रहरी खटाउँदा घर नजिकैको बाटोबाट पक्राउ परेका हुन् ।’ रातोपाटीबाट साभार 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया